Monday, May 16, 2011

समलिङी मोडल


समलिङी फेसन शो

प्रदीप मेन्याङ्बो
मेघना लामा मिस पिंकको उपाधि विजेता भएर थाइल्यान्डको बैंककमा आयोजित समलिङ्गी सौन्दर्य प्रतियोगिता मिस इन्टरनेसनल क्वीन २०१० मा सहभागी भैसकेकी प्रतिभाशाली तेस्रोलिङ्गी हुन्। अहिले उनी आफूजस्तै प्रवृत्ति भएकाहरूले समाज र परिवारमा विभेद र लाञ्छना सहँदै लुक्नुपरेको स्थितिमा आफ्नो हक-अधिकार संघर्ष गरेर मात्र प्राप्त गर्न सकिन्छ भन्ने सन्देश दिन धरानमा जेठ ३ गते आयोजना हुने फेशन शोमा क्याटवाक गर्न तम्तयार छिन्। 

भविष्यमा फेसन डिजाइनर बन्ने सपना साँचेकी २० वषर्ीया मेघना भन्छिन्, 'आफ्नो वास्तविक पहिचानका आधारमा बाँच्न पाउनुु नै सच्चा जीवन भोग्नु हो। समाजमा हामीजस्ता फरक तर विज्ञानले स्वाभाविक भावना भएका व्यक्तिहरूले अझै पनि आफ्नो पहिचानअनुुसार समाजको अंग बनेर सम्मानका साथ बस्न पाएका छैनौं।'

मेघनासँगै समाज र परिवारमा हुने भेदभाव र लाञ्छनाविरुद्ध तेस्रो लिङ्गी फेसन शोको तयारीमा पूर्वाञ्चलका समलिङ्गीहरू जुटे्का छन्। मुलुकमै पहिलो पटक ब्लुडाइमन्ड सोसाइटीले धरानमा उनीहरूलाई मात्र समावेश गरेर फेशन शो गर्न लागेको संयोजक विष्णु पाण्डेले बताए।

पछिल्लो समयमा चेतनाका कारण परिवारमा हुने भेदभाव एवं लान्छना केही मात्रामा कमी देखिए पनि समाजमा सम्मानित जीवन बिताउन अझै मुस्किल भैरहेकाले फेसन शोजस्तो सिर्जनात्मक कार्यमार्फत आफ्नो पहिचान स्थापित गर्नुपरेको अर्की सहभागी खुसी राईले बताइन्। राईले भनिन्, 'परिवार र समाजमा त नबुुझेर, थाहा नपाएर भेदभावको सिकार बनाइएको छ तर राज्यले नै चरम भेदभाव गरेकाले उसको आँखा खोल्न पनि यस्तो कार्यक्रममा सहभागी भएकी हुँ।' उनी राजधानीमा आयोजित समलिङ्गी सौन्दर्य प्रतियोगितामा फस्ट रनर्सअप हुन्। कक्षा ११ मा अध्ययनरत राई आफूहरूलाई राज्यले नै समान भागीदारीको अवसर नदिएकाले मानसिक चिन्ता र तनाव बेहोर्नुपरेको बताउँछिन्। राई भन्छिन्, 'तर कसलाई फुर्सद छ हाम्रो चिन्ता र तनावको ? कैयौं साथी घरबाट निकालिएका छन्, कैंयौको विवाहले वैधानिकता प्राप्त गर्न सकेको छैन।' बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मानसिक रोग विभागका प्रमुख मनोचिकित्सक डा. प्रमोद स्याङ्वा यस्ता अतिरिक्त कार्यक्रमले मूलधारबाट अलग्याइएका समुदायलाई एक्लो हुनबाट जोगाउन सकिने बताउँछन्। डा. प्रमोद भन्छन्, 'परम्परागत धार्मिक एवं सामाजिक मान्यताका कारण उनीहरूलाई मूलधारबाट अलग्याइएकाले समलिङ्गी समुदायको मनमा तनाव, अवशाद एवं डिप्रेसन छ। यस्ता जनचेतानमूलक कार्यक्रम उनीहरूका लागि पहिचान दिलाउने अवसर सावित

हुन सक्छन्।'

 फेसन शोका लागि र्‍याम्प वर्क मोडलिङ एजेन्सी धरानका कोरियोग्राफर ललित राईले उनीहरूलाई एक सातादेखि प्रशिक्षण दिँदैछन्। सन १९८२ मे १७ मा विश्व स्वास्थ्य संगठनले समलिङ्गी तेस्रोलिङ्गी प्रवृत्तिलाई रोगको सूचीबाट हटाएको दिनको सम्झनामा उक्त फेसन शोको आयोजना गर्न लागिएको हो।

सहभागी सबै लिङ्ग  र शारीरिक बनावटका आधारमा पुरुष भए पनि यौनिकता र मानसिक भावना एवं प्रवृत्तिका आधारमा महिला हुन्। पूर्वका नौ जिल्लाका समलिङ्गीहरूमध्ये पहिलो चरणमा २० जना छनौट गरिएको र तीमध्येकै १२ जनालाई फेसन शोमा सहभागी गर्न लागिएको हो। प्रशिक्षणमा सन २०१० मा काठमाडौंमा आयोजित समलिंगी ब्युटी प्याजेन्टमा मिस पिंक घोषित झापा दमककी २० वषर्ीया मेघना लामा स्यांदेन, काठमाडांैमा आयोजित प्रतियोगितामा फस्ट रनर्सअप मोरङकी १९ वषर्ीया खुसी राई, शिक्षा विषयमा स्नातक अध्ययरत विराटनगरकी २२ वषर्ीया महिमा चौधरी तथा पोखरामा सन २००८ मा आयोजित मिस पिंक प्रतियोगितामा पूर्वाञ्चल एम्बेस्डर उपाधि विजेता धरानकी सुहानी राजधामी आदि सहभागी छन्।

No comments:

Post a Comment